गरिखानेहरू भोकै बस्नु पर्दैन : मुख्यमन्त्री पोखरेल

बैशाख १, २०७७

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनाका कारण मजदुरहरु मर्कामा परेको बताउँदै कोही पनि नागरिक भोकै बस्न नपर्नेगरी सरकारले काम गरेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देश दिँदै कोरोनाविरुद्धको संघर्षमा एकजुट भएर लाग्नसमेत अपिल गरेका छन्।

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्ने मजदुरलाई कठिनाई भएकाबारे सरकार जानकार भएको प्रदेश सरकारले सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमै केन्द्रीत गरेको बताए। ‘अहिलेसम्म हामी सुरक्षित छौं, तर जोखिमबाट मुक्त छैनौं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं,’ मुख्यमन्त्रीको वक्तव्यमा भनिएको छ। उनले कोरोना नियन्त्रणमा नागरिकको साथ र सहयोगको अपेक्षासमेत गरेका छन्।

श्रम शक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव हुने मुख्यमन्त्रीको भनाइ छ। वर्षेनि अर्वौंको पुँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ। विकास र समृद्धिको नागरिकको आकांक्षा पूरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य भएको समेत उनले बताए।

नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय रहेकाले श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको मुख्यमन्त्रीले बताए। ‘यो कार्यक्रम व्यवहारिकरुपमा कार्यान्वयन हुँदै श्रमिक वर्गको हित र सम्मान स्थापित हुनेछ।’ मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस