काेराेना व्यवस्थापनबारे विभिन्न पालिकाको अनुगमन

चैत २६, २०७६

 

 

खबरशाला संवाददाता ।

घाेराही ।  जिल्ला समन्वय समिति दाङले जिल्लाका विभिन्न पालिकाहरुले काेराेना भाइरसको संक्रमणबाट जोगिन गरेका तयारी बारेमा जानकारी लिएको छ ।बुधवार समन्वय समितिले घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, गढवा, राजपुर र बंगलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएका क्वारेन्टाइन, भारत तथा तेस्रो मुलुकबाट आएका मानिसको तथ्याङ्क र राहत वितरणको बारेमा पालिका प्रमुख तथा प्रतिनिधिसँग जानकारी लिएको हो ।

यसअघि, मंगलबार मात्रै पश्चिम क्षेत्रका ४ वटा पालिकाको अनुगमन गरिएको थियो । सबै पालिकाहरुले क्वारेन्टाइन निर्माणदेखि राहत वितरण र विदेशबाट फर्केकाहरूकाे लगत राखेका पाइएको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिए ।

उनका अनुसार सबै पालिकाको अनुगमन गरेसँगै पालिकाहरुसँग समन्वयमा थप रणनीति तयार पारिने छ । पहिलो चरणमा सबैै पालिकाले गरेको कामको बारेमा जानकारी लिने काम पूरा गरेको समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए । त्यसैगरेर पालिकाहरुले कोराेनाबाट जोगिन सचेतना फैलाउने काम गरेका र त्यसलाई थप प्रभावकारी बनाएर लैजान सुझावसमेत दिएको उप्रमुख शर्माले बताए ।

समन्वय समिति प्रमुख नेपालीकाे नेतृत्वमा बुधबार गएको टोलीले घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपलिकामा भैराखेको तयारी बारेमा जानकारी लिएको थियो भने उपप्रमुख शर्माको नेतृत्वमा गएको टोलीले लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा र राजपुर गाउँपालिकाको अनुगमन गरिएको थियो ।

अनुगमनमा घोराही उपमहानगरले घोराही ३ को कुइरेपानी, परिवार नियोजन संघमा ३० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको र रझेना माविलाई तयारी अवस्था राखेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । त्यसैगरेर क्वारेन्टाइनमा ५ जना बसेको,पहिलो चरणमा ५ सय १ जनालाई प्रति सदस्य ५ किलो चामल, दाल, तेल लगायतको राहत वितरण गरेको प्रमुख चौधरीले बताए ।

त्यसैगरेर, भारत तथा अन्य मुलकबाट १ हजार २ सय ६९ जना आएको उपमहानगरपालिका जनाएको छ । त्यसैगरेर बंगलाचुली गाउँपालिकाले ३० वेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको, भारत र अन्य मुलकबाट १ हजार ५ सय आएको र ६ सय जनालाई राहत वितरण गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।

त्यसैगरेर, लमहीमा ३० बेडको क्वारेन्टाइन सञ्चालन गरेको , पहिलो चरणको राहत वितरण गरेको र विदेशवाट यो समयमा ८९ जना आएको नगरपालिकाले जनाएको छ । राप्ती गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन, ७ सय २९ जना र नीलसागर सेवा आश्रमलाई राहत वितरण र १ सय ६२ जना विदेशवाट आएको पालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाले दुई ठाउँमा गरेर ११ बेडको क्वारेन्टाइन निर्माण गरेको र ४ जना क्वारेन्टाइनमा बसेको, राहत वितरण बिहीबारदेखि वितरण गर्ने र यो समयमा भारत र विदेशबाट गरेर १ सय ५७ जना आएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरेर, राजपुर गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन निर्माण गरेकोमा ३ जना बस्दै आएको पालिकाले जानकारी दिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताइन् । यो समयमा पालिकामा भारत तथा अन्य मुलकबाट गरेर १ सय जना आएको समेत पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस