कोरोना कहर : मृतकको संख्या ५३ हजार नाघ्यो, १० लाख बढी स‌ंक्रमित

चैत २१, २०७६

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार ३० पुगेको छ ।

त्यस्तै शुक्रबार बिहानसम्म संक्रमितको संख्या पनि १० लाखभन्दा बढी पुगेको छ। विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन्। उत्तर कोरियाले भने आफ्नो मुलुकमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ।

शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ। न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ।

त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ।

त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित १० मुलुक

देश मृत्यु संक्रमित
अमेरिका ५९११ २४४६७८
इटाली १३९१५ ११५२४२
स्पेन १०३४८ ११२०६५
जर्मनी ११०७ ८४७९४
चीन ३३२२ ८२४३३
फ्रान्स ५३९८ ५९९२९
इरान ३१६० ५०४६८
बेलायत २९२६ ३४१७३
नेदरल्यान्ड्स १३४१ १४७८८
बेल्जियम १०११ १५३४८

प्रतिक्रिया दिनुहोस