दश दिनमा आइसोलेसन अस्पताल निर्माण

बैशाख १५, २०७७

 

रुकुम पश्चिमका दुई नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचार गर्न आफ्नै क्वारेन्टाइन तथा आइसोलेसन अस्पताल निर्माण सम्पन्न गरेका छन् । आठविसकोट नगरपालिकाले ७० लाख बराबरको खर्चमा १२ शैय्याको क्वाारेन्टाइन निर्माण गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद लम्सालले जानकारी दिए ।

तत्काल क्वारेन्टाइनका रुपमा प्रयोग गरे पनि पछि नगर अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्य रहेको उनको भनाई छ । क्वारेन्टाइन निर्माणका लागि बिभिन्न निजी क्षेत्रहरुले व्यापक सहयोग गरेका थिए ।

दश दिनभित्र निर्माण सम्पन्न गर्ने उदेश्यसहित निर्माण थालिएको क्वारेन्टाइनको काम सम्पन्न भएको हो । निर्माण सकिएको भए पनि भित्र वार्डमा अन्य कुरा मिलाउन बाँकी रहेको उनले जानकारी दिए । कर्णाली प्रदेश सरकारले गत चैत १३ गते चौरजहारी अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेलगत्तै काममा जुटेको अस्पतालले अहिलेसम्म ८० प्रतिशत काम सम्मन्न गरेको बताइएको छ ।

प्रदेश सरकारले त्यसका लागि ५० लाख बजेट अस्पताललाई निकासा गरेको थियो । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रबक्ता विमला केसीले कर्णाली प्रदेशका तीन आइसोलेसन वार्डमध्ये चौरजहारी अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बिरामी भर्ना गर्ने गरी निर्माण गरिएको वताइन् ।
आठबिसकोट नगरपालिकामा रुकुममा बनेको आइसोलेसन भवन
चौरजहारी अस्पतालले ५० शैय्याको आइसोलेसन अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिए । उनका अनुसार शीतल मावि चौरजहारीको एउटा भवनमा २० शैय्या, चौरजहारी अस्पतालभित्रै चार शैय्या तयार छन् । अस्पताल परिसरमा अरु २० शैय्याको अन्तिम काम हुँदै छ । दश दिनमा सक्ने गरी शुरु भएको उक्त वार्डको अन्तिम काम भइरहेको प्रशासक गिरीले वताए ।

प्रतिक्रिया दिनुहोस