१२ कोरोना भाइरस संक्रमित निको भएर फर्के

बैशाख १३, २०७७

काठमाडौँ– नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन्।

यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन्।

शुक्रबार नै झापामा एक जना कोरोना संक्रमित देखिएका थिए। झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

चैत ४ गते उनका छोरा दुबइबाट फर्किएका थिए। संक्रमण देखिएका पुरुषसँगै अन्य तीन जनाको आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो। पिसिआर गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

अहिले सबैभन्दा बढी विराटनगरमा ३०, वीरगञ्जमा ५ तथा भरतपुर र धनगढीमा १—१ जना गरी देशभरी ३७ जना उपचाररत छन्।

परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ। आरडिटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार पिसिआर विधिबाट ९ हजार ६ सय ६६ र आरडिटी विधिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए।

सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण सबैभन्दा बढी गरिएको छ। शनिबारसम्म त्यहाँ १० हजार २ सय ४ वटा नमुना परीक्षण भएका छन्। यसैगरी प्रदेश नम्बर १ मा ४ हजार १ सय ६०, प्रदेश नम्बर २ मा ४ हजार ४४ र बागमती प्रदेशमा ७ हजार ४ सय ६७ नमुना परीक्षण भएका छन्।

गण्डकी प्रदेशमा ४ हजार ८ सय ६१, प्रदेश नम्बर ५ मा २ हजार ९ सय ५० र कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ वटा परीक्षण भएका छन्।

देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्। सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा तीन र बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।

प्रतिक्रिया दिनुहोस