सूर्यको प्रकाशले कोरोनाभाइरस नष्ट हुन्छः अमेरिकी वैज्ञानिक

बैशाख १२, २०७७

वासिंटन । चीनबाट सुरू भएकाे काेराेना भाइरसकाे महामारीले अधिकांश देश प्रभावित बनेका छन्। साेही क्रममा अमेरिकी वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानबाट कोरोना भाइरस सूर्यको किरणबाट छिट्टै नष्ट हुने पत्ता लगाएकाे दाबी गरेका छन्। सुरक्षा विभागका विज्ञान तथा प्रविधि सल्लाहकार विलियम ब्रायनले यसबारे ह्वाइट हाउसबाट जानकारी गराएका हुन् । हालसम्मको अध्ययन अनुसार सौर्य प्रकाशले नै भाइरसलाई सतह र हावामा नष्ट गरेको देखिएको बताइन्छ ।

यसैले पनि तापक्रम र आद्रता बढ्नु भाइरसको लागि कम अनुकुल अवस्था हुने ब्रायनले बताए । वैज्ञानिकहरुको नयाँ अध्ययनसँगै गर्मी मौसममा कोरोना भाइरसको संक्रमण न्युन हुँदै जाने अपेक्षा गरिएको छ । यद्यपि उक्त अध्ययनको समिक्षात्मक रिपोर्ट सार्वजनिक गरिएको छैन ।

यसका लागि कस्तो विधि अपनाइएको थियो, कस्तो अवस्थामा परीक्षण भएको थियो जस्ता विषयबारे प्रश्न र बहस बाँकी नै छ । ‘कसरी टेस्ट गरियो र यसका परिणामहरु कसरी मापन गरियो भन्ने जान्न पाउनु खुसीको कुरा हो,’ टेक्सास एएन्डएम युनिभर्सिटीका जैवीक विज्ञान विभागका प्रमुख बेन्जामिन न्युम्यानले भनेका छन् ।

उनले थप प्रश्न गरे, ‘यो नराम्रो तरिकाले गरियो भन्ने हैन, तर भाइरस गणना गर्ने धेरै तरिका छन्, तपाईँ यसको कुन पक्ष अध्ययन गर्न चाहनुहुन्छ भन्ने कुराले निर्भर गर्छ ।’ अमेरिकी स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको प्रभाव गर्मी मौसममा अन्य भाइरस झैँ न्युन हुँदै जानेमा विश्वास गरेका छन् । र जाडोमा फेरि बढ्ने आंकलन गरिएको छ ।

कोरोना भाइरसको प्रभाव अमेरिकामा सबैभन्दा धेरै देखिएको छ । हालसम्म संक्रमितको संख्या ८ लाख ८६ हजार भन्दा बढी पुगिसकेको छ । यस्तै ५० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस