काठमाडौंमा उपचाररत सबै कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

बैशाख १२, २०७७

 

काठमाडौं-  नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित भई निको हुनेको संख्या १० पुगेको छ भने संक्रमण देखिएको कुल संख्या ४७ पुगेको छ।

उपचारपछि १० जना निको भएपछि कोरोनाको एक्टिभ संक्रमितको संख्या ३७मा आएको छ।

उपचाररत अन्य बिरामीको स्वास्थ्यवस्था पनि सामान्य रहेकाले उनीहरु पनि छिटै डिस्चार्ज हुने विश्वास अस्पतालहरुको छ।

विहिबारसम्म काठमाडौंका ३ जना र सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित व्यक्तिहरु पूर्ण रुपमा निको भएर घर फर्किएका छन्। सेती अस्पतालकी ४ मध्ये ६५ वर्षिया वृद्धा आज डिस्चार्ज भएकी हुन्। सेतीमा एक जना महिला अझै उपचाररत छिन्।

बिहीबार नै पाटन अस्पतालबाट २ जना निको भइ डिस्चार्ज भएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पनि आजै एक जना डिस्चार्ज भएका छन्।

योसँगै काठमाडौंमा उपचाररत सबै संक्रमित निको भएर डिस्चार्ज भएका छन्। काठमाडौंमा टेकु अस्पतालमा ३ जना संक्रमित भर्ना भएका थिए भने पाटनमा दुई जना भर्ना भएका थिए। उनीहरु सबै निको भएर डिस्चार्ज भएका हुन्।

अहिले, कोशी अस्पतालमा २८ जना, धौलागिरी अस्पतालमा १ जना र नारायणी अस्पतालमा ५ जना संक्रमितको उपचार भइरहेको छ।

बिहीबार २ जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु मध्ये जनकपुरमा भेटिएका संक्रमित १४ वर्षिय बालक भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

उनी सबैभन्दा कम उमेरका संक्रमित व्यक्ति हुन् भने, काठमाडौंको पेप्सिकोला स्थित सनसिटी अपार्टमेन्टमा भेएिकी ८१ वर्षिय वुद्धा सबैभन्दा बढी उमेरकी संक्रमित हुन्। उनी आजै पाटन अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनी आफ्ना ५८ वर्षिय छोरासँगै ९ दिनमा नै निको भएर फर्किएकी छिन्।

गत शनिबार वैशाख ६ गते टेकुमा उपचाररत १९ वर्षिया युवती र धौलागिरी अस्पतालमा उपचारर ६५ वर्षिया वृद्धा तीन साता लामो उपचारपछि डिस्चार्ज भएका थिए।

नेपालमा पहिलो संक्रमित कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थी थिए।  उनको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशामा परीक्षण गर्दा माघ १० गते कोरोना संक्रमण देखिएको थियो।

उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखि उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस