तुलसीपुरका मेयर औषधि बोकेर विरामीको घरमा गएपछि…..

बैशाख ११, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ पहेलपारका वासुदेव रेग्मी लामो समयदेखि नशाजन्य रोगको औषधि सेवन गर्दै आएका थिए । लकडाउनका कारण करिव १५ किलोमिटर टाढाको तुलसीपुर बजारमा उनलाई जान निकै गाह्रो थियो । सामाजिक सञ्जालबाट प्राप्त सुचनाका आधारमा उनले तुलसीपुर उपमहानगरपालिकाको टोलफ्रि नम्वरमा फोन गरे । फोन गरेको केही घण्टामै नगरप्रमुख घनश्याम पाण्डे औषधि वोकेर उनकै घरमा आए ।

औषधि कहाँबाट ल्याउने भन्ने चिन्तामा रहेका रेग्मी घरमै औषधि पाउँदा निकै खुसी देखिन्थे । “औषधि सकिन लागेको थियो घरमै सेवा पाएपछि ढुक्क भए” रेग्मीले खुसी व्यक्त गरे । रेग्मी यस्तो सेवा लिने पहिलो दीर्घरोगी हुन् । उनलाई औषधि दिएर नगरप्रमुख पाण्डेले सेवाको सुरुवात गरेका हुन् ।

उपमहानगरपालिकाले दीर्घरोगीका विरामीहरुलाई घरमै औषधि पुर्याउने कामको सुरुवात गरेको नगरप्रमुख पाण्डेले भने । उनले लकडाउनका कारण विरामीहरु वजारसम्म आउन नसक्ने भन्दै उपमहानगरपालिकाको समन्वयमा घरसम्मै औषधि पुर्याउन लागिएको वताए ।
दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोलफ्रि नम्वर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधि घरैसम्म लैजाने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिए ।

“प्रेसर, सुगर र दमको औषधि हामीले निशुल्क रुपमा उपलब्ध गराएका छौ” केसीले भने । उनले वडा वडामा रहेका स्वास्थ्य केन्द्र मार्फत औषधि वितरण गरिने पनि वताए । औषधि आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफै आउन सक्ने या आवश्यकता अनुसार उसलाई घरमै औषधि पुर्याउने पनि उनले वताए ।

यसैविच अन्य दीर्घरोगका औषधि सेवन गरिरहेकाहरुलाई पनि उपमहानगरपालिकाले घरमै औषधि उपलब्ध गराएको छ । नेपाल फार्मेसी एसोसियसन दाङ्गका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइडका साथै जटिलखालको मधुमेह लगायतका औषधिहरु घरमै पुर्याइने गरिएको हो ।

“हामीलाई फोन सम्पर्क गर्नुभयो भने हामीले व्यवस्था गरेको फार्मिसिस्टले घरमै औषधि पुर्याइदिन्छ” अधिकारीले भने ।
दीर्घरोगीलाई घरसम्म औषधि पुर्याए वाफत कुनै पनि अतिरिक्त शुल्क नलाग्ने पनि उनले जानकारी दिए । “फार्मेसीसँग सम्वन्धित व्यक्तिबाट औषधि पुर्याइने भएकाले आवश्यक परामर्श पनि दिइन्छ ” अध्यक्ष अधिकारीले वताए ।

उपमहानगरपालिका भित्र २ हजार २ सय ३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्यांक रहेको छ । जसमा १ हजार १ सय ६८ मुटुजन्य, ४ सय ३९ मधुमेह, ४ सय ५१ दमजन्य र अन्य १ सय ७५ जना विरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस