सामाजिक दूरी कायम राख्दै संसद् चल्ने

बैशाख ०८, २०७७

सामाजिक दूरी कायम गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक सञ्चालन गर्ने तयारीमा संघीय संसद् सचिवालय लागिपरेको छ।

सरकारले संसद् आह्वान गरेको खण्डमा सामाजिक दूरी कायम गर्दै संघीय संसद्का दुवै सदन सञ्चालनका लागि आवश्यक पर्ने प्रावधिक तथा अन्य भौतिक तयारीमा संघीय संसद् लागिपरेको हो।

त्यसका लागि प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष दुवैले आवाश्यक तयारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसकेका छन्। सामाजिक दूरी कायम गर्दै सांसदहरु बस्ने स्थान, कुर्सी, माइकजस्ता आवाश्यक प्रावधिक तयारीमा संसद् सचिवालय जुटिसकेको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाका सभामुख सापकोटाले सरकारले बैठक आह्वान गरेको हकमा कसरी बैठक सञ्चालन गर्न सकिन्छ? भनेर जानकारी माग्दै आवाश्यक तयारी गर्न निर्देशन दिइसकेको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

‘सम्मानीय सभामुखले सामाजिक दूरी कायम राख्दै बैठक सञ्चालन गर्न सकिन्छ कि सकिँदैन ? त्यसको प्रावधिक र भौतिक पक्षहरु के-के मिलाएर राख्न सकिन्छ भनेर बुझन सचिवालयलाई निर्देशन दिइसक्नुभएको छ,’ न्यौपानेले  भने, ‘सभाहलभित्र स्थान नपुगेमा दर्शक दीर्घामासमेत सांसदहरुलाई लगेर भए पनि बैठक सञ्चालन गर्न सकिन्छ कि भन्ने विकल्पबारे तयारी गर्न निर्देशन दिनुभएको छ।’

न्यौपानका अनुसार हाल: सभाहलभित्र निलो कभर गरेका ३ सय ३४ कुर्सीहरु छन्, जुन कुर्सीमा प्रधानमन्त्री, उपसभामुख, उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सचिवहरुका लागि बनाइएका हुन्।

‘एउटा-एउटा कुर्सी छाडेर पनि सांसदहरु बसाउने वा दर्शक दीर्घामा लगेर भए पनि बैठक सञ्चालन गर्नेबारे पनि छलफल भएका छन्,’ न्यौपानेले भने, ‘दर्शकहरुलाई चाहिँ युट्युब वा टेलिभिजनलगायतबाट प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिने व्यवस्था गरिनेबारे कुराकानी भएका छन्। ठयाक्कै निर्णय भने भइसकेको छैन।’ उनका अनुसार सभामुख सापकोटाको निर्देशन पछि सचिवालयले प्रावधिकसहित भौतिक संरचना परिवर्तन गर्ने लगायतका विषयमा अध्ययन र तयारी गरिरहेको छ।

कोभिड-१९ को महामारीका कारण मुलुक वैशाख ११ गतेदेखि लकडाउनमा परेका कारण संसदीय गतिविधिहरु ठप्पप्रायः छन्। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यतामा परेको सरकार र संसद दुवैलाई बैठक सञ्चालन कसरी गर्ने भन्ने समस्या परिरहेका बेला नयाँ तरिकारले बैठक सञ्चालन गर्नेबारे छलफल सुरु भएको हो।

सोही क्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सचिवालयका अधिकारी र प्रावधिकसहित बानेश्वस्थित संघीय संसद् भवनस्थित बैठक कक्षको अवलोकन गरे। राष्टियसभाका ५९ जना सांसदका लागि सिट संख्या हलभित्रै तयार हुनसक्ने भए पनि माइकजस्ता आवश्यक सामग्रीबारे उनले अध्ययन गरी सचिवालयलाई निर्देशन दिनेछन्।

‘सम्मानीय अध्यक्षज्युले आजै वानेश्वरस्थित सभाहलको स्थलगत अध्ययन गर्नुभयो। बैठकका लागि आवश्यक चिजहरुको व्यवस्थापनबारे थप निर्णय हुनेछ,’ अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए। उनका अनुसार राष्ट्रियसभाका ५९ सांसदहरुलाई बैठक सञ्चालन हुँदा कसरी र कुन-कुन ठाउँमा राख्नेबारे अध्यक्ष तिमिल्सिनाले जानकारी लिएका थिए।

संघीय संसदका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र राष्टियसभाका अलग-अलग बैठकमात्रै होइन, संयुक्त बैठक पनि सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने भएकाले तयारीमा लाग्न निर्देशन दिएका छन्।

‘प्रतिनिससभा र राष्ट्रियसभाको मात्रै होइन, सामाजिक दुरी कायम गर्दै संयुक्त बैठक सञ्चालन गर्न सम्मको तयारीमा जुटन निर्देशन दिनुभएको छ,’ फुयाँलले  भने, ‘यसका साथै, सांसद्हरु प्रवेश गर्नेदेखि अन्य द्वारहरुलाई सेनिटाइजर द्वारको रुपमा तयारी गर्न पनि निर्देशन दिनुभएको छ।’ उनका अनुसार अध्यक्ष तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरे पछि उक्त निर्देशन दिनुभएको हो।’

कोभिड-१९ का कारण मुलुक लकडाउनमा परेपछि अध्यक्ष तिमिल्सनाले समितिका सभापतिदेखि अन्य सरोकारवालासँग भर्चुअल छलफल गरेका थिए भने समितिका सभापतिहरुले पनि भर्चुअल बैठक गरेका थिए। संसदका गतिविधिलाई अझ प्रभावकारी बनाउन तथा सरकारले गरेका काम कारबाहीबारे संसद्मा छलफल गर्नुपर्ने आवाज उठिरहेको बेला संसद सचिवालयले त्यसका तयारीमा जुटिरहेको छ।

प्रतिक्रिया दिनुहोस