१ सय ९ अलपत्र यात्रुलाई तुलसीपुरबाट गन्तव्यमा पठाइयो

बैशाख ०५, २०७७

तुलसीपुर । विभिन्न ठाउँबाट तुलसीपुरमा आइपुगेका मानिसहरुलाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा उनीहरुको गन्तव्यसम्म पुर्याइएको छ ।

रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका विभिन्न कामदारहरुलाई तुलसीपुरबाट उद्दार गरिएको हो । उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान ,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए ।

विरेन्द्र चोकमा अलपत्र अवस्थामा रहेका १ सय ९ जनालाई सम्वन्धित पालिकाको सहकार्यमा गन्तव्य सम्म पुर्याइएको हो । अलपत्र परेका यात्रुका वारेमा सम्वन्धित गाउँपालिकामा खवर गरेर पठाइएको पनि खत्रीले जानकारी दिए ।

यात्रुहरुलाई पठाउनका लागि त्रिसिद्धेश्वरी राप्ती प्रालिले वस सहयोग गरेको थियो भने सम्वन्धित गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले पनि गाडिको व्यवस्था गरेको थियो ।

उनीहरु १० दिनसम्म हिडेर तुलसीपुर आएका थिए । बाटो खर्च नहुँदा उनीहर चाउँचाउँको भरमा यहाँसम्म आएको वताएका थिए । “गन्तव्यसम्म सहजै जान पाउँदा ठूलो संकट टरेजस्तो लागेको छ ” खुसी हुँदै सल्यानका प्रशान्त घर्तीमगरले वताए ।

बाटो खर्च नभएको हुँदा बाटोमा कसैले दया गरेर खान दिए मात्रै खाएको पनि उनले भने । अलपत्रहरुलाई वडाध्यक्ष विरेन्द्र शाह लगाएत  विभिन्न समाजसेवीहरुले खानाको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस