बाँचेर देश टेक्ने रहर छ

परदेशमा लकडाउन

बैशाख ०४, २०७७

यो वेला गाउँघरको याद साह्रै आएको छ । यो विपत्तिबाट पार पाउँने वित्तिकै मेरो देश जानेछु । निकै माया लागेको छ मेरो देशको अनि मेरो परिवारको ।

म अहिले टेक्ससको हल्टम सिटीमा वस्छु । यहाँ करिव १० हजारको हाराहारीमा नेपालीहरु वस्ने गरेका छन् । म जस्तै सबै नेपालीहरु काम छाडेर यतिवेला आफ्नै कोठामा वसिरहेका छन् । काममा नभएको पनि आज २२ दिन भयो । यहाँ घोषित रुपमा लकडाउन नभएकाले अत्यावश्यक पसलहरु खुलै रहेका छन् । मैले काम गर्ने ठाउँ पनि खुलै रहेको छ । तर पनि मलाई काममा जान मन छैन । जीवन भन्दा ठूलो कुरा के पो छ र ? म लगायत केयौ नेपालीहरु पनि काममा गएका छैनन् ।

आजका मितिसम्म टेक्सासमा ३ सय ४५ जनाको मृत्यु भएको छ भने १५ हजार १३ जना संक्रमित देखिएका छन् । सबैभन्दा खुसीको कुरा यो राज्यमा अहिलेसम्म कोही पनि नेपालीहरु संक्रमित भएका छैनन् । तर पनि संक्रमणको अवस्था हेर्दा केही भन्न सकिने स्थिति छैन । बारबार मोबाईलमा अपडेट हेर्दै म कति सुरक्षित छुँ भनेर नाप्न मन लागिरहन्छ । जेहोस् अहिलेसम्म हामी सुरक्षित अवस्थामा रहेका छौ ।

अहिले विश्वमा सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेहरुको संख्या अमेरिकामा छ । यो उकालो पनि लागिरहेको छ । यहाँ धेरै विचल्ली छ भन्ने कुरा नेपालका मिडियाहरुले फलाँकिरहेका कारण मलाई घरबाट बारबार फोन आउँछ । फोन मात्रै आए त मन थामिन्थ्यो फोनसँगै आउने आमाको आँसु पो कसरी थाम्नु ? बाबु आमाको मन न हो ।

म अमेरिका आएको पनि त ८ वर्ष भएको छ । अहिलेसम्म एकपटक पनि म नेपाल गएको छैन । यस्तो वेलामा आफ्नो ठाउँको धेरै याद आउँदो रहेछ । तर पनि के गर्नु याद गर्नु वाहेक हामीसँग के नै पो हुन्छ र ? यस्तो भयानक संक्रमण हुँदा परिवारसँगै वस्न पाइयोस् जस्तो लाग्दो रहेछ ।
हामी पहिले आएका र आधिकारीक रुपमा काम गर्ने नेपालीहरुलाई यहाँको सरकारले निरन्तर राहत दिइरहेको छ ।

काममा नगएपनि सरकारले एकाउन्टमा पैसा राखिदिने भएकाले खानका लागि हामीलाई खासै अभाव छैन । तर नयाँ आउनेहरुलाई भने केही दुख छ । हामीले त्यस्तालाई सहज होस् भन्नका लागि विभिन्न संस्था मार्फत सहयोग गरिरहेका छौ ।

गैर आवासिय नेपाली संघ, पत्रकारहरुको संस्था नेजा लगायत विभिन्न संस्थाले काममा नगएका कारण भोकै हुनेहरुलाई राहत दिइरहेका छन् । त्यसकारण काममा नगएपनि भोकै यहाँ कोही पनि बस्नु परेको छैन ।

परदेशीका लागि सम्झना न हो वाँच्ने आधार भनेको ।

कुनै पनि नेपालीले एक्लो महसुस गर्नुपरेको छैन । यहाँ संक्रमण अवधिभरका लागि घर भाडा, फोन, विद्युत लगायत विभिन्न कुराको पैसा तत्काल नतिरेपनि हुने व्यवस्था छ । पैसा नभएका कारण कुनै नेपालीले पनि यहाँ संकट व्यहोर्नु पर्ने अवस्था छैन । सबै ठिकठाक छ । विपत्तिको समय अन्य समय जस्तो हुँदैन सबैले आआफ्नो तर्फबाट केही न केही कम्प्रोमाइज त गर्नै पर्यो ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या उच्च भएकाले लास पनि राख्ने ठाउँ छैन भन्ने सुन्दा निकै भक्कानो छुट्छ । कुनै कारणले कोरोनाको संक्रमण भएर ज्यान गुमाउनु पर्यो भने हाम्रो पनि अवस्था त्यही हो । मेरा बाआमाको आँसु समेत मेरो लासमा पर्नेछैन । यस्तो वेलामा मन निकै भावुक हुँदो रहेछ । परदेशीका लागि सम्झना न हो वाँच्ने आधार भनेको ।

मन वहलाउन विभिन्न ठाउँका साथीसँग अनलाइनबाट लुडो खेल्छौ । हरेक पल व्यस्त रहने नायग्रा फल्स जस्तो जिन्दगी प्रशान्त महासागर जस्तो शान्त भएको छ । कुनै पनि थपेडी छैन जीन्दगीमा । दैनिक १८ घण्टासम्म काम गर्नेहरु पनि २४ सै घण्टा फुर्सदमा छन् । साँच्चै अमेरिकाको व्यस्त जिन्दगीमा परिवार, साथी सम्झने फुर्सद पनि हुँदैनथ्यो ।

यतिवेला पुराना यादहरु वल्झिरहेका छन् । नेपालमा रहेका आफन्ती साथीसँग कुरा गरेर न्यास्रो मेट्न मन लाग्छ तर हामीसँग वोलिदिने फुर्सद पनि कसलाई छ र ?

हरेक पल व्यस्त हुने अमेरिका यतिवेला ठप्प छ । सडक सुनसान छन् । आँधि आएपछि छाउने सन्नाटा जस्तो भएको छ । ८ वर्ष अमेरिका वसे । केही कमाए हुँला तर धेरै गुमाएजस्तो लाग्छ । यो वेला गाउँघरको याद साह्रै आएको छ । यो विपत्तिबाट पार पाउँने वित्तिकै मेरो देश जानेछु । निकै माया लागेको छ मेरो देशको , मेरो परिवारको अनि अझै सम्बोधन गर्न नपाएको मेरो उनीको ।

प्रतिक्रिया दिनुहोस