अनि हामी आयौ …….

चैत १७, २०७६

 

राप्ती समाचार राष्ट्रिय दैनिक पत्रिका यस क्षेत्रको पुरानो र लोकप्रिय पत्रिका हो । तत्कालिन विशेष परिस्थितिमा वाहेक यो पत्रिका दैनिक रुपमा प्रकाशित हुँदै आएको छ । समयको मागलाई मनन गरेर हामीले यसलाई अनलाईनमा लैजाने सोच वनायौ । यही सोचको प्रतिफल हो खवरशाला । पछिल्लो समय सूचना प्रविधिको विकासले समाचार सम्प्रेषण सहज वन्दै गएको छ यो सँगै सत्य, तथ्य सूचना तत्कालै सम्प्रेषण गर्नु अर्को चुनौति पनि हामी माझमा रहेको छ । आज मिडियाको भुमिका जनतालाई केवल सूचना दिने मात्रै नभएर एजेण्डा सेटिङ गर्नका लागि समेत महत्वपूर्ण हुँदै आएको छ । राज्यको चौथो अंगका रुपमा स्थापित भएको मिडियाको भुमिका अहिले पनि तटस्थ हुन सकिरहेको छैन । कतिपय घटनालाई हेर्ने हो भने मिडियाले सबैका कुरा नभएर केही निश्चित समुदायका कुरालाई वढि पक्षपोषण गरिरहेको देखिन्छ । यस्तो अवस्थामा तटस्थ ढँगले सूचना सम्प्रेषण गर्ने सञ्चार माध्यमको भुमिका निकै महत्वपूर्ण देखिन्छ ।
आजको समयमा निष्पक्ष, सन्तुलित र विश्वसनिय समाचारको खडेरी देखिन्छ । अनलाइनमा सेयर हुने प्रलोभनमा परेर केयौ अनलाईनहरुले अहिले पनि अफवाह फैलाइरहेका छन् । जनतामा सञ्चार माध्यमप्रतिको हिजोको विश्वास ह्रास हुँदै गएको प्रतित हुन्छ । यस्तो अवस्थामा सञ्चार माध्यमको साँख र गरीमा जोगाउनु अहिलेको विशेष आवश्यकता हो । यस कुरालाई हामीले वलियो ढँगले मनन गरेका छौ । हामीले हाम्रो अनलाइनको नारा नै वनाएको छौ “नयाँ सोच , नयाँ खोज” । यही कुरालाई मनन गरेर हामीले कुनै पनि समाचारलाई नयाँ तरिकाले पाठकहरुको मन छुने गरी प्रस्तुत गर्नेछौ । एक सञ्चारविद्ले भनेका छन् “ देखाउन खोजेका सबै कुरा प्रचार हुन् भने लुकाउन खोजेका सबै कुरा समाचार हुन्” यो वाक्य हाम्रो लागि मुल मन्त्र हुनेछ । यही कुरालाई हामीले प्राथमिकतामा राख्नेछौ ।
डिजिटल पत्रिकाको युगमा नयाँ नयाँ अनलाईन सञ्चालन हुनु आफैका त्यति ठूलो कुरा होइन तर अनलाइनलाई जनउपयोगी वनाउने गरी कसरी सञ्चालन गर्न सकिन्छ भन्ने कुरा भने सोचनिय विषय हो । विश्वले पछिल्लो समय विभिन्न खालका संकटको सामना गरिरहेको छ । यस्तो अवस्थामा मिडियो थप जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ । हामीले धेरै ठूला कुरा होइन साना साना कुरालाई समाचारका रुपमा प्रस्तुत गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस