विदेशबाट आउनेको अभिलेख तयार पार्दै घोराही

चैत १८, २०७६

दाङ । घोराही उपमहानगरपालिकाले भारतलगायत अन्य मुलुकबाट फर्कने नागरिकको अभिलेख तयार पारेको छ । नगरस्तरिय विपत् व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी १५ दिनयता नगर फर्कनेहरुको तथ्यांक सार्वजनिक गरेको हो ।

विपत् व्यवस्थापन समितिका संयोजक एवं उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले कोरोना भाइरसको महामारी फैलिएपछिको समयमा भारतलगायत अन्य मुलुकबाट १ हजार २ सय ६६ नागरिक नगर भित्रिएको जानकारी दिए । भारतबाट १ हजार ८ जना, कतारबाट १० जना, दुबईबाट २१ जना र अन्य मुलुकबाट २७ जना गरी १ हजार २ सय ६६ जना नगरमा भित्रिएको चौधरीको भनाइ  छ।

कोरोना भाइरसविरुद्ध उपमहानगरपालिका सशक्त भएर लागिपरेको भन्दै प्रमुख चौधरीले वडा ३ को कुइरेपानीमा १० शय्याको  आइसोलेसन स्थापना गरिसकेको जानकारी दिए। विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेको भन्दै उपमहनगरपालिका प्रमुख चौधरीले आवश्यक परे नेपाल परिवार नियोजन संघ र बाल अस्पतालमा आइसोलेसन स्थापना गर्ने तयारी रहेको पनि जानकारी दिए ।

उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले १० लाखको कोरोना विशेष कोष स्थापना गरेको जानकारी दिए । कोरोना भाइरसको महामारीबाट उपमहानगरका बासिन्दालाई बचाउन उपमहानगर योजनाबद्ध तरिकाले लागिपरेको भन्दै उनले आवश्यक परेको खण्डमा विगत व्यवस्थापनमा खर्चन सक्ने १ करोड बढी बजेट उपमहानगरपालिकासँग रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए ।

प्रतिक्रिया दिनुहोस